Total Pageviews

Saturday, November 26, 2011

0

भारतीय जबर्जस्तीले पुल निर्माण कार्य अवरुद्ध

काठमाडौं,  /  नेपाल र भारतबीच प्राविधिक तहमा भएको सहमति सरकारीस्तरबाट अनुमोदन हुन बाँकी रहँदा हुलाकी मार्गअन्तर्गत पर्ने वीरगन्ज-ठोरी सडक खण्डमा पर्ने ठुटे खोलाको पुल निर्माण कार्य अवरुद्ध भएको छ । नेपाल-भारतबीचको नयाँ र पुरानो नक्सांकनअनुसार पुल निर्माणस्थल कुन देशमा पर्छ भन्ने अन्यौल भएकाले पुल निर्माण कार्य अवरुद्ध भएको हो ।

दुवै देशको संयुक्त सीमा प्राविधिक समितिस्तरमा भएको सहमतिअनुसार तयार गरिएको नेपाल-भारतबीचको नयाँ नक्सांकनमा ठुटे खोलाको पुल निर्माणस्थल नेपालमा पर्छ तर दुवै देशबीच नयाँ नक्सांकनलाई औपचारिक रुपमा दुवै देशले अनुमोदन गर्न बाँकी छ । प्रतिस्थापन हुने क्रममा रहेको नेपाल-भारत सीमाको पुरानो नक्सांकनअनुसार पुल निर्माणस्थल भारतमा पर्छ । त्यही कारण करिब सात महिनाअघि आफ्नो भूभाग मिचेर किन पुल बनाएको भन्दै भारतीय सीमा सुरक्षा बल बीएसएफ ले विरोध गरेपछि निर्माण कार्य रोकिएको जानकारी हुलाकी सडक आयोजनाका अधिकारीले दिए ॥
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार संयुक्त सीमा प्राविधिक समितिले नेपाल-भारतबीचको ९७ प्रतिशत सीमामा सहमति गरी नयाँ नक्सांकन तयार गरिसकेको छ । नेपाल-भारतबीच कालापानीमा ३० र सुस्तामा २३ किमी क्षेत्रमा मात्र सीमा विवाद छ । ९७ प्रतिशत सीमामा प्राविधिकस्तरमा भएको सहमतिअनुसार तयार गरिएको नयाँ नक्सांकनमा सहमति गरी नेपालको नापी विभाग र सर्भे अफ इन्डिया सर्भेका प्रमुखले हस्ताक्षर गरिसकेका छन् । दुई सरकारबीच राजनीतिक स्तरमा उक्त नयाँ नक्सांकनमा सही हुन बाँकी छ । भारतले विवाद नरहेको ९७ प्रतिशत सीमाको नयाँ नक्सांकनमा जति चाँडो सही गर्न नेपालललाई दबाब दिइरहेको छ । तर नेपालले भने कालापानी र सुस्ताको विवाद समाधान गरेपछिमात्र पूरै नयाँ नक्सांकनमा सही गर्ने पक्षमा छ ।
'पुल नेपाल-भारतबीचको यही विवादको चपेटामा परेको हो । भारतीय सीमा सुरक्षा बललाई समेत नयाँ नक्सांकनअनुसार पुल निर्माणस्थल नेपालमा पर्छ त्यसमा दुई देशका नापी/सर्भे कार्यालयका प्रमुखले सहमति गरी हस्ताक्षरसमेत गरिसकेको जानकारी छ सरकारी स्तरमा नयाँ नक्साकनमा सही नभएसम्म पुरानै नक्सांकन लागू हुने भएकाले भारतीय सीमा सुरक्षा बलले पुल निर्माणमा अवरोध पुर् याएका हुन्' एक अधिकारीले भने ।
'भारतको सीमा सुरक्षा बलले यो हाम्रो भूभाग हो भन्दै ठोरी नजिकको ठुटे खोलाको पुल निर्माण कार्य सात महिनाअघि रोकेका हुन् । नयाँ नक्सांकनअनुसार पुल निर्माणस्थल नेपालमा पर्छ हाम्रो नापी कार्यालयबाट संयुक्त सीमा प्राविधिक तहमा भएको सहमतिअनुसार गरिएको नयाँ नक्सांकनमा त्यो पुल निर्माणस्थलमा पर्छ भनेर भारतीय सरकारलाई पटकपटक लेखी पठायौं वीरगन्ज भारतीय वाणिज्य दूतसित समेत वार्ता गर् यौ तर पुल निर्माणमा अवरोध यथावत् छ' हुलाकी सडक आयोजना प्रमुख हरिकृष्ण भगतले भने ।
सडकका अधिकारीहरुले सरकारले राजनीतिक तथा कूटनीतिकस्तरबाट उक्त पुल निर्माणका बारेमा ठोस पहल नगरिदिएकामा रोष प्रकट गरेका छन् । 'हामीले अनुरोध गरे पनि पररराष्ट्र मन्त्रालयले कुनै पहल गरिदिएन' सडकका एक अधिकारीले भने । हुलाकी सडक आयोजनाले परराष्ट्र मन्त्रालय र राजनीतिकस्तरबाट ठोस पहल नभएका कारण करिब ७० मिटर लामो उक्त पुल निर्माणका लागि वैकल्पिक उपाय अपनाउने तयारी गरेको छ ।
सडकका एक अधिकारीका अनुसार उच्च राजनीतिक तथा कूटनीतिक स्तरबाट सहयोग नपाएपछि आयोजनाले हाल पिलर खनिएको भन्दा नेपालतर्फ ५० मिटर वर सार्ने तयारी भइरहेको छ । 'लफडा किन गरिरहने भनेर हामीले ठुटे खोलाको पुल ५० मिटरसम्म सार्ने र हुलाकी सडकको एलाइन्मेन्टसमेत त्यहीअनुसार ५० मिटरमाथि सार्दैछौं' भगतले भने । वीरगन्जमा भारतीय वाणिज्य दूतसित सोमबार हुने वार्तामा भारतीय सहयोगमा निर्माणाधीन हुलाकी सडकको एलाइन्मेन्ट ठूटे खोलामा ५० मिटरसम्म सार्नेबारेमा छलफल गरी सहमति गरेर त्यसैअनुसार कार्य अघि बढाइने जानकारी आयोजनाका अधिकारीले दिए ।
भगतले ठाउँ माथि सारेर ठुटे खोलाको पुल निर्माण कार्य यही आर्थिक वर्षमा पूरा गर्न प्रयास गरिने जानकारी दिए । पूर्वदेखि पश्चिम तराईसम्म भारतको सहयोगमा हुलाकी सडक निर्माण हुँदैछ । दुई देशबीचको सहमतिअनुसार हुलाकी सडकमा पर्ने पुलहरु भने नेपालले निर्माण गर्दैछ । वीरगन्जदेखि ठोरीसम्मको निर्माणाधीन खण्ड ६८ किमी लामो छ ।

No comments:

Post a Comment