Total Pageviews

Wednesday, October 12, 2011

0

अवैध गैरआवासीय नेपाली संघलाई प्रधानमन्त्रीदेखि सेनासम्मको साथ


गैरआवासीय नेपाली संघ गठन भएको एक दशक वितिसक्दा पनि अहिलेसम्म वैधानिकता पाउन सकेको छैन । संघ कहीँ कतै दर्ता छैन । स्पष्ट रूपमा भन्नुपर्दा संघ अवैध हो तर, यही अवैध हैसियतमै संघले पाचौं विश्व सम्मेलन सुरु गरिसकेको छ र प्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यही अवैध संघको उद्घाटन गरेका छन् । प्रधानमन्त्री जस्तो व्यक्तिले संघको वैधानिकताको ख्यालै नगरी सम्मेलनमा सहभागी हुनुले उनको छबीमाथि प्रश्नचिन्ह खडा भएको छ । कुनै सभा सम्मेलन उद्घाटन गर्न नजाने घोषणा गरेका प्रधानमन्त्रीले आफ्नो घोषणा विपरीत एनआरएनको पाचौं विश्व सम्मेलन उद्घाटन गरे जुन संघको वैधानिकता अत्तोपत्तो छैन । अवैध संघलाई नेपाली सेनाले पनि साथ दिएको छ सम्मेलनस्थल उपलब्ध गराएर । राष्ट्रिय सेनाले विदेशमा धन कमाएर आएकाहरूको अनुहारकै भरमा कानुनी हैसियत नबुझिकनै कार्यक्रम गर्न दिएको छ । प्रधानमन्त्री डा. भट्टराईले सम्मेलनको उद्घाटन गर्दै सन् २०१२ र १३लाई नेपाल लगानी बर्ष घोषणा गरिने र त्यसमा एनआरएनलाई पनि सहभागी बनाएर लैजाने सोच राखेको बताएका छन् । विश्वका बिकसित मुलुकमा पुगेर ज्ञान सीप र पूँजी हासिल गरेका नेपालीहरूलाई नेपाल भित्र्याएर नेपाललाई नै सम्बृद्ध बनाउने आफ्नो चाहना रहेको उनको भनाई थियो । तर, संघको वैधानिकताको विषयमा भने प्रधानमन्त्रीले चुईंक्क शब्द उठाएनन् ।
‘हाम्रो सञ्जाल, हाम्रो पहिचान ः समृद्ध नेपाल’ को नारा घन्काउँदै सुरु भएको सम्मेलनमा पहिलो विश्व सम्मेलनदेखि नै उठाइएका पुरानै कुरालाई तोड मतोड गरेर नयाँ पार्न खोजिएको छ । यस सम्मेलनमा पनि नेपालमा लगानी प्रवद्र्धन सम्बन्धी विभिन्न विषयले प्राथमिकता पाउने भएका छन् । दोहोरो नागरिकता, सामुहिक लगानी, खुला विश्वविद्यालय, सामाजिक क्षेत्रमा एनआरएनको संलग्नताको विषयलाई मूल मुद्दाको रूपमा उठाउँदै आएको एनआरएनले सम्मेलनका क्रममा वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन चालिनुपर्ने कदम, संघको वैधानिकता एवम् वित्तीय सुदृढीकरणका लागि चाल्नुपर्ने भावी रणनीति तथा कार्यक्रम, गैरआवासीय नेपाली सम्बन्धी कानुनको पुनरावलोकन लगायतका विषयमा पनि छलफल गर्ने कार्यक्रम रहेको जनाएको छ । तीन दिनसम्म चल्ने यस सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएकाले सम्पूर्ण सम्मेलन यसैमा केन्द्रित देखिएको छ । संघको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष जीवा लामिछानेले उम्मेद्वारी घोषणा गरिसकेका छन् । अन्तिम समयसम्म सहमति बन्न नसकेमा नयाँ नेतृत्वका लागि एनआरएनको इतिहासमा पहिलोपटक चुनाव हुनेछ । नेतृत्व हत्याउन हिराचन र लामिछाने दुवै गुट सक्रिय रूपमा लागेका छन् भने सहमतिका प्रयासहरू पनि जारी रहेका छन् ।

khadi sandesh

No comments:

Post a Comment